पहिलो बाबा ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न, ९९ खेलाडीको सहभागिता; आठ विधाका विजेता घोषित

एक्रोन-भुटानी–नेपाली समुदायबीच खेलकुदको विकास, आपसी सद्भाव, एकता र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको पहिलो बाबा ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यबाट आएका ९९ जना खेलाडीहरूले उत्साहजनक सहभागिता जनाउँदै उच्चस्तरीय खेल प्रदर्शन गरेका थिए।

आयोजकका अनुसार यो प्रतियोगिता अमेरिकामा आयोजना भएका भुटानी–नेपाली समुदायका सबैभन्दा ठूलो ब्याडमिन्टन प्रतियोगितामध्ये एक बनेको छ। प्रतियोगिताभरि रोमाञ्चक प्रतिस्पर्धा, उत्कृष्ट खेल भावना र समुदायबीचको आत्मीयता झल्किएको आयोजकले जनाएको छ।

यस प्रतियोगिताको अर्को विशेष पक्ष भनेको किशोर तथा युवा पुस्ताको उल्लेखनीय सहभागिता र बढ्दो आकर्षण रहेको थियो। विशेषगरी अन्डर–१६ विधामा देखिएको उत्साहजनक सहभागिताले आगामी दिनमा भुटानी–नेपाली समुदायमा ब्याडमिन्टन खेलको उज्ज्वल भविष्य रहेको संकेत गरेको आयोजकको भनाइ छ।

प्रतियोगितामा एडभान्स, इन्टरमिडियट, महिला तथा अन्डर–१६ गरी आठ विधामा प्रतिस्पर्धा भएको थियो। एडभान्स डबल्सतर्फ बाल्टिमोर, मेरिल्याण्डका निशान खत्री र भीम खत्री विजेता बने भने कुल रोका र किशोर श्रेष्ठ उपविजेतामा सीमित भए। एडभान्स सिंगल्समा लुइसभिल, केन्टकीका पदम राईले उपाधि जित्दा रोचेस्टर, न्यूयोर्कका एन्जल सुब्बा उपविजेता बने।

इन्टरमिडियट डबल्सतर्फ कोलम्बस, ओहायोका शक्ति राई र दावा तामाङले उपाधि जिते भने एक्रोन, ओहायोका अम्बर सुब्बा र खेम निरौलाले दोस्रो स्थान हासिल गरे। इन्टरमिडियट सिंगल्समा म्यासाचुसेट्सका मंगल मगर विजेता बन्दा एक्रोन, ओहायोका सुन साबा उपविजेता बने।

महिला डबल्समा बाल्टिमोर, मेरिल्याण्डकी केनी शाह र सुनीता एसबीले उपाधि जित्दा ह्यारिसबर्ग, पेन्सिलभेनियाकी नयुमा राई र सोनिया सुनुवार उपविजेतामा रहे। महिला सिंगल्समा पनि बाल्टिमोरकी सुनीता एसबीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितिन् भने एक्रोन, ओहायोकी अमृता लिम्बु उपविजेता बनिन्।

अन्डर–१६ डबल्समा एक्रोन, ओहायोकी प्रियांजना लिङ्देन र लाशा राई विजेता बने भने उत्सव पुमा र सन सुब्बा उपविजेता भए। अन्डर–१६ सिंगल्समा उत्सव पुमाले उपाधि जित्दा लाशा राई दोस्रो स्थानमा रहे।

आयोजकका अनुसार प्रतियोगिताले नयाँ तथा अनुभवी खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नुका साथै अमेरिका भरि रहेका भुटानी–नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, युवा र किशोर पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ जीवनशैली र सकारात्मक नेतृत्व विकास गर्न पनि प्रतियोगिताले प्रेरणा दिएको आयोजकको विश्वास छ। प्रतियोगिताको सफल आयोजनामा सहभागी खेलाडी, प्रशिक्षक, स्वयंसेवक, निर्णायक, दर्शक तथा सहयोगी सबैको सक्रिय साथ रहेको आयोजकले जनाएको छ।

यस प्रतियोगितालाई सफल बनाउन फ्रिडम होम एन्ड डे हेल्थ केयर, रोङमिट ग्रोसरी, औरा फाउन्डेसन, भुटानीज होमकेयर सर्भिसेस, एम्बर सुब्बा (रियल्टर), सनसाइन तेक्वान्डो एकेडेमी, प्रवीण बाबा (रियल इस्टेट), नक्षत्र फाउन्डेसन, हरि सुबेदी (इन्टरप्रेनर), नेबर्स ग्रोसरी, एमसीपी मार्ट – ग्रोसरी वन स्पट, सनसाइन कर्नर, नमस्ते ब्युटी लाउन्ज, गेटफोनफिक्स, बियर • वाइन • लटरी, ग्रेटर ह्यारिसबर्ग, मेरिल्यान्ड नेपाली ब्याडमिन्टन क्लब, १६ फेदर्स ब्याडमिन्टन क्लब, एमबीबीसी तथा एक्रोन र्याकेट्स ले प्रायोजन तथा सहयोग गरेका थिए।

आयोजक संस्थाले पहिलो संस्करणलाई ऐतिहासिक रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, खेलाडी, स्वयंसेवक, अतिथि तथा दर्शकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक, व्यवस्थित र भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, आगामी संस्करणमा अझ बढी खेलाडी, विशेषगरी किशोर तथा युवा प्रतिभाहरूको सहभागिता बढाउँदै प्रतियोगितालाई राष्ट्रियस्तरको प्रतिष्ठित खेल महोत्सवका रूपमा विकास गर्ने लक्ष्य समेत सार्वजनिक गरेको छ।

More From Author

भुटानी शरणार्थीको दीर्घकालीन समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै हर्कराज राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *