
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले नेपालमा दशकौँदेखि बसोबास गरिरहेका भुटानी शरणार्थीहरूको समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शरणार्थीहरूको भविष्य सुनिश्चित गर्न ठोस पहल आवश्यक रहेको बताएका हुन्।
राईले भुटानी शरणार्थीहरू वर्षौँदेखि अनिश्चित जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै उनीहरूलाई या त सम्मानपूर्वक भुटान फर्काउने पहल गर्नुपर्ने, अन्यथा तेस्रो मुलुकमा पुनर्वास भइसकेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलन गराउने व्यवस्था मिलाउनुपर्ने माग राखे।
उनले भने, “देश सबैका लागि अमूल्य हुन्छ। हामी आफ्नो देश र सीमाको विषयमा बहस गरिरहेका छौँ, तर यही देशभित्र यस्ता मानिसहरू पनि छन्, जो दशकौँदेखि ‘भुटानी शरणार्थी’ को परिचय बोकेर बाँचिरहेका छन्। उनीहरूको पीडा र भविष्यप्रति पनि राज्य संवेदनशील हुनुपर्छ।”
राईका अनुसार शरणार्थीहरूको प्रमुख माग भनेको या त आफ्नो मातृभूमि फर्किन पाउने वातावरण निर्माण हो, होइन भने विभिन्न देशमा पुनर्वास भएका आफ्ना परिवारका सदस्यसँग परिवार पुनर्मिलनको अवसर उपलब्ध गराइनु हो।
उनले आफ्नो भनाइको अन्त्यमा राष्ट्र, सीमा र राष्ट्रिय पहिचानबारे भइरहेका बहसभन्दा बाहिर पनि आफ्नै देश गुमाएर शरणार्थी जीवन बिताइरहेका मानिसहरूको अवस्थालाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरे। “आफ्नो देशविहीन भएर वर्षौँदेखि शरणार्थी जीवन बिताइरहेका ती मानिसहरूको पीडा पनि राज्यले महसुस गर्नुपर्छ,” उनले भने।



