डा. गोविन्द रिजालको दोस्रो पुण्यतिथिमा उहाँप्रति समर्पित

भूटानी प्रजातान्त्रिक अभ्यासहरूको निरन्तर अनुगमन तथा प्रजातन्त्रका लागि भएका संघर्षहरूको इतिहास अभिलेखका लागि द भूटान वाचले Bhutan Democracy Digital Archive को घोषणा गरेको छ । यो अभिलेख वैज्ञानिक, शिक्षक, लेखक तथा द भूटान जर्नलका संस्थापक सह–सम्पादक डा. गोविन्द रिजाल स्मृतिमा समर्पित हुनेछ ।

डा. रिजालको ५ मे २०२४ मा कीर्तिपुर, काठमाडौंमा भएको सडक दुर्घटनामा निधन भएको थियो। उहाँ भूटानमा जन्मनुभएको थियो र १९९० को दशकको सुरुवातमा आफ्नो मातृभूमिबाट निष्कासित हुनुपरेको थियो । तेस्रो देश पुनर्स्थापनाका अवसरहरू हुँदाहुँदै पनि उहाँले त्यता जाने निर्णय गर्नु भएन । उहाँले नेपालमै बसेर भुटानी प्रजातान्त्रिक अभियानमा रहने चाहना गर्नुभयो । यही निर्णयले उहाँको सम्पूर्ण व्यक्तित्वलाई परिभाषित गर्थ्यो—उहाँ आफ्नो व्यक्तिगत सहजताभन्दा समुदायलाई अगाडि राख्ने, र पछाडि परेकाहरूका लागि निरन्तर काम गर्ने व्यक्ति हुनुहुन्थ्यो ।

धान प्रजनन र आणविक जीवविज्ञानका विज्ञका रूपमा डा. रिजालले नेपाल र फिलिपिन्सका समुदायहरूको खाद्य सुरक्षामा योगदान पुर्‍याउनु भयो । १९९० को दशकका शरणार्थी शिविरहरूमा शिक्षकका रूपमा उहाँ धेरै युवा भूटानीहरूको लागि प्रेरणादायी र आत्मीय व्यक्तित्व बन्नुभयो । उहाँको गणितीय क्षमतालाई उहाँका विद्यार्थीहरू संझिरहन्छन् । उहाँले आफ्नो जीवनयात्रा र भूटानको राजनीतिक अवस्थाको विश्लेषण समेटिएको आत्मकथात्मक कृति ए परदेशी इन प्याराडाइज तथा नेपाली कथासङ्ग्रह बेजोड बन्ध प्रकाशित गर्नुभएको थियो। निधनको समयमा उहाँ भूटानको विस्तृत इतिहास लेख्ने कार्यमा जुटिरहनुभएको थियो, जुन पाण्डुलिपि द भूटान वाचले उचित समयमा प्रकाशित हुने आशा राखेको छ ।

द भूटान जर्नलका सह–सम्पादकका रूपमा उहाँले जर्नललाई भूटान र भूटानी डायस्पोरासँग सम्बन्धित विषयहरूमा बौद्धिक बहस र मन्थनको मञ्च बनाउनुभयो । उहाँ हरेक व्यक्तिलाई समान सम्मान र आत्मीयताका साथ व्यवहार गर्नुहुन्थ्यो। उहाँको अनुपस्थितिले ठूलो रिक्तता छोडेको छ ।

द भूटान वाचले रिजालकृत अनुसन्धान र लेख तथा उहाँको संझनालाई चिरस्थायी बनाउन Rizal Memorial Archives (rizalmemorialarchives.org) तयार गरेको छ । उहाँलाई चिन्ने सबैलाई हामी यस अभिलेखागारलाई समृद्ध बनाउन योगदान गर्न हार्दिक अनुरोध गर्दछौँ । तपाईं उहाँको विद्यार्थी हुनुहुन्थ्यो, अनुसन्धानका सहकर्मी, उहाँका पुस्तकका पाठक, वा केवल उहाँसँग भेटघाट मात्र भएको व्यक्ति —रिजाललाई संझाउने हर प्रकारका सामाग्री उपलब्ध गराईदिन अनुरोध गर्दछौं । व्यक्तिगत श्रद्धाञ्जली, संस्मरण, तस्वीर, पत्र, आलेख, शैक्षिक पत्राचार वा उहाँसँग सम्बन्धित कुनै पनि सामग्री हामी उपलब्ध गराईदिनु भए हामी आभारी हुनेछौं । यो अभिलेख हामी सबैको साझा सम्पत्ति हो ।

Bhutan Democracy Digital Archive ले डा. रिजालको स्मृतिलाई अझ सुदृढ बनाउनेछ । यस अभिलेखालयमा भूटानको प्रजातान्त्रिक संस्कार र अभ्यासहरूलाई पाँच प्रमुख वर्गमा अभिलेखिकरण गर्नेछ—
राजनीतिक बहुलवाद, समावेशीकरण र विविधता, न्यायपालिका र कानूनी शासन, नागरिक समाज तथा सञ्चारमाध्यम, र सुशासन ।

सदृढ प्रजातन्त्रका लागि राजनीतिक विकल्पहरु आवश्यक पर्छ । राजनैनितक दलहरूले स्वतन्त्र रूपमा गठन, सञ्चालन र विचार अभिव्यक्त गर्न पाउनुपर्छ । नागरिकहरूले मतदान र अन्य राजनैतिक सहभागिता जनाउन पाउनु पर्छ । दलीय उपस्थिति, कानुनी वातावरण, निर्वाचन कानून, मतदाता सहभागिता र निर्वाचन व्यवस्थापनसम्बन्धी सामग्री सङ्कलन गरेर यो अभिलेखालयले भूटानको निर्वाचन प्रणाली समावेशी, प्रतिस्पर्धी र पारदर्शी छ कि छैन भन्ने मूल्याङ्कनमा मद्दत गर्नेछ ।

लोकतन्त्रको शक्ति केवल संस्थाहरूमा होइन, ती संस्थाहरूमा को–को समावेश छन् भन्नेमा पनि निर्भर हुन्छ। त्यसैले राजनीतिक, जातीय, धार्मिक र लैङ्गिक प्रतिनिधित्व अभिलेख गर्नु लोकतन्त्रको स्वास्थ्य मूल्याङ्कनका लागि अत्यावश्यक छ । समावेशीकरण र विविधता वर्गमा हामी भुटानको प्रजातान्त्रिक सुधाना भएका प्रगति र कायम रहेका संरचनात्मक अवरोध दुवैलाई समेट्नेछौं ।

स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड हो—यसले अधिकारहरूको रक्षा गर्छ र सरकार कानुनअनुसार चलिरहेको छ कि छैन भन्ने सुनिश्चित गर्छ । त्यसैले अभिलेखालयले न्यायिक नियुक्ति, न्याय सुरक्षा, पारदर्शिता, र राजनीतिक प्रभावका संकेतहरू अभिलेख गर्नेछ । स्वतन्त्रता विस्तार गर्ने वा सीमित गर्ने दुवै प्रकारका कानुन र कानुनी विकासको अभिलेखिकरणले भूटानको कानुनी संरचनाले त्यहाको प्रजातान्त्रिक जीवनलाई कसरी आकार दिएको छ भन्ने देखाउनेछ ।

स्वतन्त्र अभिव्यक्ति, नागरिक समाज र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् । त्यसैले अभिलेखालयले भुटानीहरूले कत्तिको स्वतन्त्र रूपमा सङ्गठित र अभिव्यक्ति गर्न पाएका छन् भन्ने अभिलेखिकरण गर्नेछ । प्रेस स्वतन्त्रता, नागरिक समाज सम्बन्धि कानून, मानवअधिकारबादी संस्थाहरू, संयुक्त राष्ट्रसंघीय मानव अधीकार समीक्षा प्रक्रिया, र अधिकार उल्लङ्घनका प्रमाण सङ्कलन गरेर हामी भूटानमा नागरिक कत्तिको सुरक्षित छन् र प्रजातान्त्रिक अभ्यास गर्न पाएका छन भन्ने चित्र प्रस्तुत गर्नेछौं ।

सुशासन वर्गमा हामी भूटानमा शक्ति कसरी प्रयोग हुन्छ भन्ने अभिलेख गर्नेछौं । कसले नेतृत्व सम्हाले, उजुरी र गुनासाहरू कसरी सम्बोधन भए, र कहाँ भ्रष्टाचार वा अधिकार दुरुपयोगका घटना भए भन्ने अभिलेखि राखिनेछ । जवाफदेहिता, नैतिकता र भ्रष्टाचारविरोधी संयन्त्रसम्बन्धी सामग्रीले कार्यपालिका र प्रशासनभित्रको पारदर्शिता र जिम्मेवारीको चित्र दिनेछ ।

अभिलेखालयमा भूटानका प्रजातन्त्रिक संघर्षहरूको कथा पनि संग्रहित हुनेछ । २००८ मा भुटान शान्तिपूर्ण रुपमा प्रजातान्त्रिक सही भए पनि पूर्ण सत्य हैन । १९५०, १९८० र १९९० का दशकमा प्रजातान्त्रिक संघर्षहरु भए । ति संघर्षका कथाहरुको उचित अभिलेखीकरण भएको छैन । अभिलेखालयले ती सबै प्रजातान्त्रकि संघर्षहरुको पनि अभिलेखिकरण गर्नेछ । 

अभिलेखालयले कसैको पक्ष वा विपक्ष लेने छैन वा विचार प्रकाशित गर्ने छैन । यसले प्रमाणहरको दस्तावेज बनाउने छ ताकि अनुसन्धानकर्ता, पाठक, नीतिनिर्माता तथा सर्वसाधारणले प्रमाण पढेर आफ्नै निष्कर्ष निकाल्न सकून् । 

हामी Bhutan Democracy Digital Archive मा योगदान गर्न आह्वान गर्दछौं । यदि तपाईंसँग भूटानको लोकतान्त्रिक इतिहास वा वर्तमान अभ्याससँग सम्बन्धित दस्तावेज, तस्वीर, ध्वनिमुद्रण, व्यक्तिगत विवरण वा कुनै पनि अभिलेख छन् भने कृपया हामीलाई उपलब्ध गराईदिनु होला । हामी उपलब्ध गराउनेको नाम स्पष्ट रुपमा उल्लेख गर्नेछौं । यो अभिलेखालयमा नयाँ सामग्रीहरू भेटिँदै जाँदा थपिँदै जानेछन् । यसको सफलता भूटानी समुदाय तथा भुटानको प्रजातान्त्रिक इतिहासप्रति चासो राख्ने सबैको सहभागितामा निर्भर गर्दछ ।

डा. रिजालले यो इतिहास बिर्सिन नदिने कार्यमा आफ्नो जीवन समर्पित गर्नुभयो। उहाँको दोस्रो पुण्यतिथिमा, द भूटान वाचले यो कार्यलाई निरन्तर अघि बढाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।

थप जानकारीका लागि editor@bhutanwatch.org वा bhutanwatchresearch@gmail.com मा सम्पर्क गर्नु होला ।

More From Author

पेन्सिलभेनियाको मेकानिक्सबर्ग स्थित हिङमाङ तेक्वान्दो एकेडेमीको शानदार सफलता

पेन्सिलभेनियामा भविष्य पुराण महोत्सवको रौनक

Leave a Reply

Your email address will not be published. Required fields are marked *