
अमेरिका-अमेरिकी नेपाली समुदायका धेरै गाडी चालकहरू विभिन्न इन्सुरेन्स एजेन्सीहरूको कमजोर सेवा, अस्पष्ट जानकारी तथा प्रभावकारी परामर्शको अभावका कारण अनावश्यक दुःख र समस्यामा परिरहेका छन्। विश्वासका साथ इन्सुरेन्स गराएका ग्राहकहरूले आवश्यकता परेको समयमा उचित सहयोग, स्पष्ट मार्गदर्शन तथा समयमै प्रतिक्रिया नपाउने गुनासो दिनप्रतिदिन बढ्दो छ।
विशेषगरी दुर्घटना, क्लेम प्रक्रिया वा कानुनी जटिलताको समयमा धेरै नेपाली ग्राहकहरू अन्योलमा पर्ने गरेका छन्। कतिपय अवस्थामा सामान्य जानकारीको कमी वा सानो त्रुटिका कारण चालकहरूले ठूलो आर्थिक नोक्सानी समेत व्यहोर्नुपरेको छ। तर महिनाको प्रिमियम संकलन गर्ने समयमा भने एजेन्सीहरू अत्यन्त सक्रिय हुने गरेको अनुभव धेरैको साझा गुनासो बनेको छ।
समस्या पर्दा फोन नउठ्ने, समयमै जवाफ नदिने, क्लेम प्रक्रियाबारे स्पष्ट जानकारी नदिने तथा अंग्रेजी भाषाको कठिनाइमा रहेका नेपाली ग्राहकलाई आवश्यक सहयोग नगर्ने प्रवृत्तिले समुदायभित्र असन्तुष्टि बढाएको देखिन्छ। इन्सुरेन्स सेवा भनेको केवल मासिक रकम उठाउने व्यवसाय मात्र नभई दुर्घटना वा कठिन परिस्थितिमा ग्राहकलाई सुरक्षा, भरोसा र सही साथ दिने जिम्मेवारीपूर्ण सेवा हो।
त्यसैले नेपाली समुदायसँग काम गर्ने इन्सुरेन्स एजेन्सीहरूले अझ जिम्मेवार, पारदर्शी र सेवामुखी बन्न आवश्यक देखिएको छ। ग्राहकलाई इन्सुरेन्स नीति, कभरेज, क्लेम प्रक्रिया, जोखिम तथा कानुनी पक्षबारे स्पष्ट र सरल भाषामा जानकारी गराउनु उनीहरूको प्रमुख दायित्व हो। साथै समस्या परेको समयमा छिटो प्रतिक्रिया, उचित मार्गदर्शन र मानवीय व्यवहारले मात्र समुदायको विश्वास कायम रहन सक्छ।
हाल नेपालीहरूद्वारा सञ्चालित केही इन्सुरेन्स एजेन्सीहरूप्रति समुदायको विश्वास क्रमशः कमजोर हुँदै गएको महसुस गरिएको छ। यदि सेवा प्रणालीमा सुधार, पारदर्शिता र ग्राहकप्रतिको उत्तरदायित्व बढाइएन भने भविष्यमा यसले अझ ठूलो अविश्वास सिर्जना गर्ने सम्भावना देखिन्छ। समुदायको विश्वास जोगाउन सेवा दिने संस्थाहरूले व्यवसायभन्दा माथि उठेर इमान्दार, उत्तरदायी र ग्राहक केन्द्रित कार्यशैली अपनाउनु आजको आवश्यकता बनेको छ।



