ग्लोबल एफसी द्वारा मल्टिस्पोर्ट कार्यक्रम स्क्रान्टनमा आयोजना हुँदै

स्क्रान्टन, पेन्सिलभेनिया — ग्लोबल एफसी र स्क्रान्टनको भुटानी समुदायको संयुक्त आयोजनामा बालबालिकाहरूका लागि विशेष “नेपाल कम्युनिटी मल्टिस्पोर्ट कार्यक्रम” आयोजना हुने भएको छ। समुदायका बालबालिकालाई खेलकुदमार्फत स्वस्थ, सक्रिय र आत्मविश्वासी बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम जुन १७ देखि जुलाई १, २०२५ सम्म सञ्चालन हुनेछ।

कार्यक्रम स्क्रान्टनस्थित कोनेल पार्कमा हरेक बुधबार, शुक्रबार, शनिबार र आइतबार साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन गरिने ग्लोबल एफसीका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिएका छन्। कार्यक्रममा U6 देखि U17 उमेर समूहका सबै बालबालिकाले निःशुल्क सहभागिता जनाउन सक्नेछन्।

यस ९ दिने कार्यक्रममा फुटबल, ट्र्याक एण्ड फिल्ड तथा विभिन्न बाहिरी खेलकुद गतिविधिहरू समावेश गरिएका छन्। कार्यक्रममार्फत बालबालिकामा शारीरिक तन्दुरुस्ती, मित्रता, आत्मविश्वास तथा टिमवर्कको भावना विकास गरिने विश्वास आयोजकले लिएका छन्।

कार्यक्रम अवधिभर सहभागीहरूलाई पानी, स्न्याक्स तथा गेटोरेड उपलब्ध गराइनेछ भने मेडिकल टिम पनि स्थलमै उपस्थित रहने जानकारी दिइएको छ। अन्तिम दिन परिवारमैत्री खेल तथा विभिन्न रमाइला गतिविधिहरू समेत आयोजना गरिने बताइएको छ।

अभिभावक तथा परिवारजनलाई आफ्ना बालबालिकाको प्रगति अवलोकन गर्न तथा उत्साहवर्धन गर्न कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेका छन्।

“सक्रिय बनौँ। बलियो बनौँ। एकजुट बनौँ।” भन्ने नारासहित आयोजना हुन लागेको यस कार्यक्रमले समुदायका बालबालिकालाई सकारात्मक वातावरणमा खेलकुदसँग जोड्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

More From Author

अमेरिकामा “भविष्यत पुराण” भव्य रूपमा आयोजना हुँदै, भारतकी कथा वाचिका देवी प्रतिभा सहभागी हुने

नेपालीहरू द्वारा सञ्चालित केही इन्सुरेन्स एजेन्सीहरू प्रति समुदायको विश्वास कमजोर हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *