
पेन्सिलभेनिया-अमेरिका स्थित पेन्सिलभेनियाको ह्यारिसवर्गमा“ओएचआरसी” द्वारा आगामी मे २२ देखि २९ तारिखसम्म “भविष्यत पुराण” भव्य रूपमा आयोजना गरिने भएको छ। आयोजक समितिका अनुसार कार्यक्रममा भारतकी चर्चित कथा वाचिका देवी प्रतिभा विशेष रूपमा सहभागी हुने तय भएको छ।
कार्यक्रममा अमेरिकामै रहेका स्थानीय कलाकार, पुरोहित तथा आचार्यहरूको समेत विशेष प्रस्तुति रहने जनाइएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रमलाई यस वर्ष अझ व्यापक र आकर्षक बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै समूहका सञ्चार संयोजक सी. एम. निरौलाले यसपटक युवापुस्तालाई विशेष प्राथमिकतामा राखिएको बताए। उनका अनुसार ओएचआरसी युथ फोरम मार्फत युवाकेन्द्रित विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ।
“बालबालिका, युवा देखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहलाई समेट्ने गरी विविध कार्यक्रमको तयारी गरेका छौं,” निरौलाले भने, “यसले धार्मिक चेतनासँगै सामाजिक तथा सांस्कृतिक एकतालाई समेत मजबुत बनाउने विश्वास लिएका छौं।”
आयोजक संस्थाले विगतदेखि नै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा १८ वटा पुराण आयोजना गर्ने दीर्घकालीन संकल्पसमेत सार्वजनिक गरेको जनाएको छ।
कार्यक्रममा विभिन्न निर्वाचित जनप्रतिनिधि, सांसद, प्रशासनिक प्रमुख तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको समेत उपस्थिति रहने जानकारी दिइएको छ। साथै कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले आयोजक संस्थासँग सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको पनि आयोजकले बताएका छन्।
यसअघि पनि संस्थाले मिशिगनबाट विदुषी डा.लक्ष्मीलाई आमन्त्रण गरी कथा प्रवचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो। यसपटक पुनः आध्यात्मिक क्षेत्रकी चर्चित कथा वाचिकालाई आमन्त्रण गरी भव्य धार्मिक माहोल तयार पार्ने तयारी गरिएको आयोजकको भनाइ छ।



