कोलम्बसमा अन्तरराज्यीय ‘मदर्स डे’ फुटबल प्रतियोगिता हुँदै, आमाहरूको भूमिकाबारे नयाँ सन्देश

कोलम्बस — अमेरिकाको कोलम्बस शहरमा आगामी मे ९ र १०, २०२६ मा “इन्टर स्टेट मदर्स डे सकर प्रतियोगिता” आयोजना हुने भएको छ। AAMA (Awesome Athletic Moms of America) को आयोजनामा तथा “हिरा” को सहकार्यमा हुन लागेको यस प्रतियोगिताले विभिन्न राज्यका आमाहरूलाई खेलकुदमार्फत एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ।

एक्रोन, पिट्सबर्ग, ह्यारिसबर्ग, सिन्सिनाटी लगायतका स्थानबाट आएका आमा टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताले प्रतिस्पर्धासँगै आपसी चिनजान, सहकार्य र सामुदायिक एकतालाई बलियो बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम सफल बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

मदर्स डे को अवसर पारेर आयोजना गरिएको यो प्रतियोगिता केवल खेलकुद गतिविधि मात्र नभई आमाहरूको भूमिका, संघर्ष र योगदानलाई सम्मान गर्ने विशेष पहलको रूपमा हेरिएको छ।

नेपाली समाजमा आमाहरू भन्नेबित्तिकै चुलो–चौको, घरधन्दा र परिवारको हेरचाहमा मात्र सीमित रहने परम्परा लामो समयदेखि रहँदै आएको छ। घरभित्रको कामलाई प्राथमिकता दिँदै आफ्ना चाहना, रुचि र क्षमतालाई पछि पार्ने संस्कार अझै धेरै हदसम्म देखिन्छ। तर समयसँगै यो सोच परिवर्तन हुँदै गएको छ।

कार्यक्रमकी कोषाध्यक्ष सुचिता गुरुङका अनुसार आजका आमाहरू केवल घरभित्र सीमित छैनन्। आमाहरू शिक्षित, आत्मनिर्भर र आत्मविश्वासी बन्दै समाजका विभिन्न क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेका छन्। खेलकुद, व्यवसाय, सामाजिक नेतृत्व, शिक्षा र सेवाका क्षेत्रमा उनीहरूको उपस्थिति उल्लेखनीय बन्दै गएको छ। यस्ता अन्तरराज्यीय प्रतियोगिताहरूले आमाहरूलाई आफ्नो प्रतिभा देखाउने, आत्मविश्वास बढाउने र स्वस्थ जीवनशैली अपनाउने अवसर प्रदान गर्ने उनले बताइन्।

विशेषगरी विदेशमा रहेका नेपाली समुदायमा यस्ता कार्यक्रमहरूले अझ ठूलो महत्व राख्ने उल्लेख गर्दै उनले दैनिक व्यस्त जीवनशैलीका बीच आमाहरूलाई आफ्नो लागि समय निकाल्ने, नयाँ साथी बनाउने र मानसिक रूपमा सशक्त बन्ने अवसर मिल्ने बताइन्। यसले उनीहरूलाई केवल परिवारको जिम्मेवारी वहन गर्ने व्यक्ति मात्र नभई समाज परिवर्तनका सक्रिय पात्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उनको भनाइ छ।

“यो प्रतियोगिता आमाहरूको सम्मान मात्र होइन, उनीहरूको क्षमता र पहिचानलाई उजागर गर्ने प्रयास हो,” कोर्डिनेटर रिया बिश्वाले बताइन्।

समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई खेलाडी आमाहरूलाई हौसला प्रदान गर्न आग्रह गरिएको छ। यस्तो कार्यक्रमले आगामी पुस्तालाई पनि सकारात्मक सन्देश दिने विश्वास गरिएको छ कि आमाहरू केवल घरको सीमाभित्र सीमित रहने होइनन्, उनीहरू समाजका हरेक क्षेत्रमा सक्षम र सशक्त रूपमा अगाडि बढ्न सक्छन्।

More From Author

महागुरु फाल्गुनन्दको समाज सुधार दर्शनलाई आत्मसात गर्दै पिट्स्बर्गमा किरात समाज सुधार दिवस सम्पन्न

Celebrating Women’s Leadership: Kumari Regmi Honored with “Empowerment in Action Award”

Leave a Reply

Your email address will not be published. Required fields are marked *