अझै जग्गाको खोजी बागलुङमा आधारभूत अस्पताल निर्माण

 

अझै जग्गाको खोजी बागलुङमा आधारभूत अस्पताल निर्माण

बागलुङ : संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ  पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो।

कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन्। हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा दिइरहेका छन्। जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए। अहिले केही पालिकाले स्वास्थ्यचौकीको स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कही पालिकामा अस्पताल निर्माणाधीन छन्।

गलकोटले हरिचौर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालबाट हुने सेवा प्रवाह गरेको छ भने तमानखोलाले बोङ्गादोभान स्वास्थ्यचौकीको स्तरोन्नति गरी सेवा शुरु गरेको हो। गलकोटले गत वर्ष पुस १७ गतेदेखि १५ शय्याको नगर अस्पताल सुरु गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। नगर अस्पताल निर्माणका लागि संघीय सरकारले रु १८ करोड विनियोजन गरेको उनको भनाइ छ। भवन निर्माणका लागि हाल सञ्चालन रहेको अस्पताल छेउमा जग्गा व्यवस्थापन भइरहेको उनले जानकारी दिए।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, ६ नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोग्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसियन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेको उहाँको भनाइ छ। अस्पताललाई थप व्यवस्थापन गर्नका लागि थप भवन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताए। जग्गा खरिदका लागि अहिले रकम सङ्कलन भइरहेको उनले जानकारी दिए।

तमानखोलाले पनि बोङ्गादोभान स्वास्थ्यचौकीबाट आधारभूत अस्पतालको सेवा शुरु गरेको छ। यो पालिकामा पाँच शय्याको आधारभूत अस्पताल बन्ने छ। जसका लागि संघीय सरकारले रु ११ करोड विनियोजन गरेको छ। गाउँपालिकाले यही पुस ३ गतेदेखि आधारभूत अस्पालको सेवा शुरु गरेको स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए। गाउँपालिकाले एक मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक, दुई जना अहेव, तीन  अनमी, एक ल्याब असिस्टेन्टको व्यवस्थापन गरी सेवा प्रवाह गरेको उनको भनाइ छ।

बागलुङ नगरपालिकाले वडा नम्बर १३ स्थित पैयुँपाटा स्वास्थ्यचौकीबाट नगर अस्पतालको सेवा प्रवाह गर्दै आएको छ। १५ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै दुई वर्ष अगाडिदेखि यहाँ नगरपालिकास्तरीय अस्पतालको स्वास्थ्य सेवा दिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। अस्पताल निर्माणका लागि संघीय सरकारले  १८ करोड रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ।

अस्पतालमा एक जना एमबीजीपी, तीन जना मेडिकल अधिकृत, चार स्वास्थ्य सहायकलगायतका जनशक्ति रहने प्रावधान रहे पनि अहिले कार्यरत एक  मेडिकल अधिकृत, एक जनस्वास्थ्य निरीक्षक, एक स्वास्थ्य सहायक, एक स्टाफ नर्स, एक सिनियर अनमी, अनमी र एक ल्याब असिस्टेन्ट कार्यरत रहेको खनालले बताए।

ढोरपाटन –९ पाखाथर उपत्यकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भए पनि यो अवधिमा ४० प्रतिशत काम भएको छ। समयमै भुक्तानी नहुँदा हाल काम रोकिएको छ। २०८२ असार २३ सम्म सकिसक्नुपर्ने अस्पतालको भवन करिब आधा सकिँदा पनि कामअनुसारको भुक्तानी नभएको निर्माण कम्पनी एसी कन्ट्रक्सनका प्रमुख दीपक अदैले दाबी गरे। अस्पातल भवन निर्माणका लागि  १२ करोड ९६ लाख रुपैयाँमा जिम्मा उनको भनाइ छ। काम गर्नुअघि पेश्की रकम दुई करोड ४६ लाख मात्रै आएको उनले बताए। तीन महिना अगाडि छ करोड ६१ लाख रुपैयाँको बिल नगरपालिकामा पठाए पनि हालसम्म भुक्तानी नभएको अदैको भनाइ छ।

निसीखोला गाउँपालिका–४ झिम्पामा दुई वर्षअघि शुरु भएको १० शय्याको पालिकास्तरीय आधारभूत अस्पतालको काम हालसम्म ८५ प्रतिशत काम सकिएको छ। यही पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण भए पनि बजेट अभावका कारण काम हुन सकेको छैन। गाउँपालिकाले १० करोड ९४ लाख रुपैयाँको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरी जिम्मा लिएर काम गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। संघीय सरकारले बजेट पठाए काम शुरु हुने जनाइएको छ।

बडिगाड गाउँपालिका–५ को रिखेटारीमा १५ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए। केन्द्र सरकारले विनियोजन गरेको २४ करोड रुपैयाँ विनियोजन गरेको बजेटले काम भएको उनको भनाइ छ। अस्पतालको काम ९० प्रतिशत सकिएको भण्डारी बताउँछन्। हाल सात वटा स्वास्थ्यचौकी र चार आधारभूत स्वास्थ्य केन्द्रबाट बडिगाडका नागरिकले स्वास्थ्य सेवा लिएको उनी बताउँछन्।

जिल्लाको ताराखोला गाउँपालिकामा तीन वर्षअघि नै पालिकास्तरीय पाँच श्ययाको अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए। जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको जनाउँदै मापदण्डअनुसारको पाए काम अघि बढाउने उनको भनाइ छ।

दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि जग्गा निःशुल्क प्राप्त गरेको तर मापदण्डअनुसार नभएपछि भवन निर्माणको काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए। जग्गा स्वीकृत गर्न मन्त्रालयमा पठाएको उनको भनाइ छ।

ढोरपाटन नगरपालिका–९ का मिनबहादुर विकले अहिलेसम्म ढोरपाटन उपत्यका क्षेत्रमा अस्पताल नबन्दा यहाँका नागरिकले पर्यटकले समस्या खेप्नुपरेको बताए।

 

More From Author

वडाध्यक्ष खड्का मृत भेटिए भीमदत्त–६ का

आजको मौसम हुस्सु र कुहिरो तराईमा, तीन प्रदेशमा बदली

Leave a Reply

Your email address will not be published. Required fields are marked *