ओहायो — ओहायोका केही होम हेल्थकेयर प्रदायक संस्था माथि मेडिकेड कार्यक्रममा अनियमितता तथा सम्भावित ठगीसम्बन्धी आरोप लागेपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा सुरु भएको छ। यस विषयले अमेरिकी संसद (कंग्रेस) तथा राज्यस्तरीय नीति निर्माताहरूको समेत ध्यान आकर्षित गरेको छ। उनीहरूले मेडिकेड अन्तर्गत सञ्चालित होम हेल्थकेयर सेवामाथि थप निगरानी, पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताएका छन्।

सामाजिक सञ्जालमा यस विषयलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका बेला अमेरिकेयर हेल्थकेयर (Americare Healthcare) र सेरेनिटी होम हेल्थ एजेन्सी (Serenity Home Health Agency) अध्यक्ष डिल्ली अधिकारीले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल मार्फत जारी लामो वक्तव्यमा अधिकारीले विगत एक दशकदेखि समुदायको सेवामा समर्पित रहेको उल्लेख गर्दै अमेरिकेयर हेल्थकेयर सन् २०१६ मा र सेरेनिटी होम हेल्थ एजेन्सी सन् २०१९ मा आफूले सञ्चालनमा ल्याएको बताएका छन्। हाल यी दुई संस्थामार्फत करिब २,४०० स्वास्थ्यकर्मी कार्यरत रहेको र २,२०० भन्दा बढी उपभोक्ताले सेवा पाइरहेको उनले जनाएका छन्।
अधिकारीले आफ्नो संस्था कुनै पनि प्रकारको ठगी वा गैरकानुनी गतिविधिमा संलग्न नरहेको दाबी गर्दै मेडिकेडका सबै नियम तथा मापदण्डको पालना गरिएको बताएका छन्। उनले आवश्यक परेमा सेवाग्राहीलाई प्रदान गरिएका सेवाहरू, कर्मचारीलाई गरिएको भुक्तानी तथा कर तिरेको विवरणसहित सम्पूर्ण कागजात प्रस्तुत गर्न तयार रहेको उल्लेख गरेका छन्।
हामीमाथि उठाइएका प्रश्नहरूको निष्पक्ष र विस्तृत अनुसन्धान होस् भन्ने चाहन्छौं। हामी सम्बन्धित निकायहरूसँग पूर्ण रूपमा सहकार्य गरिरहेका छौं र सत्य तथ्य सार्वजनिक हुनेमा विश्वस्त छौं,अधिकारीले वक्तव्यमा उल्लेख गरेका छन्।
उनले ओहायो डिपार्टमेन्ट अफ मेडिकेडद्वारा भइरहेको प्रशासनिक अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको तथा सेवाग्राहीहरूलाई निरन्तर सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएका छन्। उनका अनुसार संस्थाको मुख्य प्राथमिकता कर्मचारीहरूको रोजगारी सुरक्षित राख्नु, सेवाग्राहीहरूको हेरचाहमा कुनै अवरोध आउन नदिनु र समुदायले राखेको विश्वास कायम राख्नु हो।
साथै, अधिकारीले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै तथ्य पुष्टि नगरी व्यक्ति वा सम्पूर्ण समुदायमाथि आरोप नलगाउन आग्रह गरेका छन्।
सार्वजनिक रूपमा कुनै समाचार वा टिप्पणी प्रकाशित गर्नुअघि सत्य तथ्यको पुष्टि गर्न म सञ्चारकर्मी तथा सर्वसाधारण सबैमा विनम्र अनुरोध गर्दछु। तथ्य नबुझी कुनै व्यक्ति वा समुदायलाई दोषी ठहर गर्नु उचित हुँदैन,उनले भनेका छन्।
यस घटनासम्बन्धी अनुसन्धान अझै जारी रहेको र सम्बन्धित सरकारी निकायहरूले अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेका छैनन्। त्यसैले हाल उठाइएका आरोपहरू अनुसन्धानको विषय रहेको र अन्तिम निर्णय सम्बन्धित निकायको प्रतिवेदन तथा कानुनी प्रक्रियापछि मात्रै स्पष्ट हुने बताइएको छ।



