
कोलम्बस, ओहायो — अमेरिकाको कोलम्बस शहरमा आगामी मे ९ र १०, २०२६ मा “इन्टर स्टेट मदर्स डे सकर प्रतियोगिता” आयोजना हुँदैछ। आमाहरूको सक्रियता, स्वास्थ्य, आत्मविश्वास र सामुदायिक एकतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगितामा विभिन्न राज्यका मम्स टोलीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा पेन्सिल्भेनियाको ह्यारिसवर्ग स्थित “टाईगर मम्स हेरिजवर्ग” टोलीले पनि सहभागिता जनाउने भएको छ। टोलीले विभिन्न राज्यका मम्स टिमहरूसँग प्रतिस्पर्धात्मक खेल खेल्नेछ। खेलमार्फत आमाहरूको क्षमता, नेतृत्व र सक्रिय भूमिकालाई उजागर गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

टाईगर मम्स हेरिजवर्गकी संस्थापक तथा टिम म्यानेजर देविका बराल समुदायमा एक प्रेरणादायी महिलाको रूपमा परिचित छिन्। भुटानमा जन्मिएकी बराल सानै उमेरमा आफ्नो परिवारसँग भुटान छोडेर शरणार्थी जीवन बिताउन बाध्य भएकी थिइन्। उनले आफ्नो जीवनको १८ वर्ष शरणार्थी शिविरमा बिताइन्। त्यसपछि अमेरिका आएर अथक मेहनत, संघर्ष र समर्पणमार्फत आफ्नो परिवारको उज्ज्वल भविष्य निर्माण गर्न सफल भएकी हुन्।
अमेरिकामा उनले सुरुवाती दिनहरूमा अस्पतालहरूमा दोभाषेको रूपमा काम गरिन्। त्यही समय उनले रियल स्टेट लाइसेन्स हासिल गरिन् र निरन्तरको मेहनत तथा लगनशीलताबाट आज सेन्ट्रल पेन्सिल्भेनियाकी सफल तथा चर्चित रियल्टरमध्ये एक बन्न सफल भएकी छन्। व्यावसायिक सफलतासँगै उनले असल आमा, पत्नी र परिवारको बलियो साथीसँगै आफ्नो जिम्मेवारीलाई सन्तुलित रूपमा निर्वाह गर्दै आएकी छन्।
देविका बराल सेन्ट्रल पेन्सिल्भेनियामा एक कुशल तथा सम्मानित कार्यक्रम सञ्चालक (एमसी) का रूपमा पनि परिचित छिन्। उनले नविन के. भट्टराई लगायत विभिन्न चर्चित व्यक्तित्वहरूसँग सहकार्य गर्दै धेरै सफल सामुदायिक कार्यक्रम तथा सांस्कृतिक समारोह सञ्चालन गरिसकेकी छन्। उनको आत्मविश्वास, नेतृत्व क्षमता र समुदायसँगको निकट सम्बन्धले उनलाई नेपाली समुदायमा परिचित र सम्मानित व्यक्तित्व बनाएको छ।
हाल उनी “टाईगर मम्स हेरिजवर्ग” की संस्थापक तथा म्यानेजरको भूमिकामा रहेर महिलाहरू र परिवारलाई प्रेरणा दिँदै आएकी छन्। उनको नेतृत्वमा टोलीले गत वर्ष एक्रोनमा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थियो। यस वर्ष पनि उनले सफल व्यवस्थापनसहित टोलीलाई कोलम्बसमा आयोजना हुने मदर्स डे प्रतियोगितामा सहभागी गराएकी छन्।
नेपाली समाजमा परम्परागत रूपमा आमाहरूलाई घरभित्रको काम, चुलोचौको र परिवारको जिम्मेवारीमा मात्र सीमित गर्ने सोच अझै पनि केही समुदायमा देखिन्छ। तर देविका बरालजस्ता महिलाहरूले खेलकुद, नेतृत्व, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै ती पुराना सोचहरू परिवर्तन गरिरहेका छन्।
शरणार्थी शिविरको संघर्षपूर्ण जीवनदेखि सफल रियल्टर, सम्मानित एमसी, सामुदायिक अगुवा र समर्पित पारिवारिक महिलासम्मको देविका बरालको यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।



