भुटानी अमेरिकन प्रिमियर कप २०२६: एकता र पहिचानको ऐतिहासिक खेल महोत्सव एक्रोनमा हुँदै

ओहायो, अमेरिका — अमेरिकाको ओहायो राज्यस्थित एक्रोन शहरमा आगामी जुलाई १७ देखि १९ तारिखसम्म “भुटानी अमेरिकन प्रिमियर कप २०२६” भव्य रूपमा आयोजना हुने भएको छ। राजा बाबु फुटबल क्लबको आयोजनामा तथा भुटानी कम्युनिटी एशोसिएसन अफ एक्रोन, ओरा फाउन्डेशन र शान्ति कम्युनिटी फार्म को विशेष सहयोगमा सञ्चालन हुन लागेको यस प्रतियोगिताले भुटानी मूलका अमेरिकी समुदायलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यस प्रतियोगिताको मुख्य उद्देश्य अमेरिका भरि रहेका भुटानी मूलका युवाहरूबीच खेलकुदमार्फत एकता, भाइचारा र सकारात्मक सोचको विकास गर्नु हो। फुटबलजस्तो अन्तर्राष्ट्रिय खेलले भाषा, जात, धर्म र भौगोलिक सीमाभन्दा माथि उठेर सबैलाई एउटै मैदानमा उभ्याउने शक्ति राख्ने भएकाले यस प्रतियोगितालाई केवल खेल मात्र नभई समुदायको पहिचान, गर्व र एकताको प्रतीकको रूपमा पनि लिइएको छ।

प्रतियोगितामा विभिन्न उमेर समूहका खेलहरू समावेश गरिएका छन्—अण्डर १२, अण्डर १६, बयस्क, ३० वर्षमाथि, ४० वर्षमाथि तथा महिला समूह। अण्डर १६ र ३०/४० वर्षमाथिका खेलहरू अन्तर-राज्य स्तरमा हुनेछन् भने बयस्क समूहको प्रतिस्पर्धा अन्तर-क्लब स्तरमा आयोजना गरिनेछ। महिला समूहको सहभागिताले प्रतियोगितालाई अझ समावेशी र सशक्त बनाउने अपेक्षा गरिएको छ।

राजा बाबु फुटबल क्लब र भुटानी कम्युनिटी एशोसिएसन अफ एक्रोनको संयुक्त आयोजनामा हुने यस प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरूबाट दर्जनौँ टोलीहरूको सहभागिता रहने अनुमान गरिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ, जसले खेलाडीहरूको उत्साह अझ बढाउने विश्वास गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा करिब ५१,००० अमेरिकी डलर बराबरको खर्च लाग्ने अनुमान गरिएको छ। आयोजकहरूका अनुसार यो केवल खेलकुद कार्यक्रम मात्र नभई भुटानी अमेरिकी समुदायको साझा पहिचान, संस्कार र एकताको उत्सव पनि हो।

यस भव्य खेल महोत्सवमा भुटानी समुदायका सदस्यहरू, खेलप्रेमीहरू, अभिभावकहरू तथा सम्पूर्ण दर्शकहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आयोजकहरूले हार्दिक निमन्त्रणा गरेका छन्।

आयोजकहरूको विश्वास छ—“भुटानी अमेरिकन प्रिमियर कप २०२६” ले खेलकुदको माध्यमबाट समुदायलाई अझ नजिक ल्याउँदै आपसी सम्बन्ध सुदृढ गर्नेछ र भविष्यका पुस्ताका लागि प्रेरणादायी उदाहरण बन्नेछ।

More From Author

पेन्सिल्भेनियामा भुटानी शरणार्थी समुदायका दुई सदस्य पक्राउ, निष्कासनको डर बढ्दो

“मनदेखि मनसम्म” को सातौं श्रृंखला कोलम्बसमा हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *