
ह्यारिसबर्ग – नारीहरूलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ। उनीहरू न केवल परिवारको मेरुदण्ड हुन्, तर समाज, राजनीति, शिक्षा, खेलकुद, व्यवसाय तथा विविध क्षेत्रहरूमा आफ्नो अमूल्य योगदान दिइरहेका छन्।

आजको समयमा नारीहरू पुरुषहरूको तुलनामा धेरै अगाडि बढिरहेका छन्। चाहे नेतृत्व क्षमताको कुरा होस्, चाहे कुनै चुनौतीको सामना गर्ने साहस, महिलाहरू हरेक क्षेत्रमा आफ्नो दक्षता प्रमाणित गरिरहेका छन्। उनीहरू अब केवल घरपरिवार सम्हाल्ने सीमित भूमिकामा मात्र छैनन्, बरु ठूला–ठूला निर्णयहरू गर्ने, परिवर्तन ल्याउने र समाजलाई नयाँ दिशा दिने महत्वपूर्ण भूमिका निभाइरहेका छन् ।

त्यसरी नै बिनिता पुरी राई तेक्वान्दो, नेतृत्व र समुदाय सेवामा समर्पित यात्रा प्रेरणादायी छ। भूटानमा १९८९ मा जन्मिएकी बिनिता, हाल नेपाली आप्रवासी समुदायमा नेतृत्वदायी भूमिकामा क्रियाशील छिन्।बुबा देवराज पुरी र आमा संगिता पुरीको कोखबाट जन्मिएकी बिनिता प्रकाश राईसँग विवाहबद्ध छिन्।

शैक्षिक यात्राका क्रममा उनले इलिनोइसस्थित कम्युनिटी कलेज अफ डुपेजबाट एसोसिएट डिग्री हासिल गरेकी छन्। साथै, उनी डुपेज फेडरेशन अफ ह्युमन सर्भिसेज रिफर्मबाट प्रमाणित दुभाषी पनि हुन्।
सानै उमेरदेखि तेक्वान्दोप्रति रुचि राख्दै आएकी बिनिताले २००७ मा कुक्कीवोनबाट पहिलो डिग्री ब्ल्याक बेल्ट प्राप्त गरिन्।
हाल उनी तेक्वान्दोमा मास्टर डिग्री हासिल गर्ने यात्रामा छिन्। १२ वर्षको उमेरमै भूटानी शरणार्थी शिविरमा प्रशिक्षकको रूपमा आफ्नो यात्रा सुरू गरेकी उनले नेपालमा रहँदा राष्ट्रिय रेफ्रीको भूमिका निभाइन्।२०११ मा अमेरिका आएपछि उनले इलिनोइसस्थित वर्ल्ड रिलिफमा झण्डै एक दशक स्वयंसेवकका रूपमा बिताउँदै शरणार्थी र आप्रवासीहरूको पुनःस्थापनामा महत्वपूर्ण योगदान गरिन्।
२०२० मा पेन्सिलभेनिया आएका बेला पनि नेपाली समुदायका लागि विभिन्न कार्यक्रमहरूमार्फत सहयोग गर्दै आएकी छन्।हाल बिनिता भूटानी कम्युनिटी इन ह्यारिसबर्ग की उपाध्यक्ष हुन्। साथै, उनी स्वटारा टाउनशिपको नागरिक परामर्श परिषदकी सदस्यको रूपमा पनि कार्यरत छिन्।
अमेरिकामा तेक्वान्दो प्रवर्धनमा सक्रिय रहँदै उनले अमेरिकाको राष्ट्रिय रेफ्री र राष्ट्रिय प्रशिक्षक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन्। उनको योगदानलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सम्मानित गरिएको छ। २०२५ मा न्यू जर्सीमा आयोजित मेट्रो ओपन इन्टरनेशनल च्याम्पियनसिपमा “वर्षको उत्कृष्ट रेफ्री” को उपाधि प्राप्त गर्नुका साथै, २०२४ मा कुक्कीवोन कप यूएसएबाट “उत्कृष्ट नेतृत्व” को मान्यता प्राप्त गरिन्।
साथै, उनले २०२३ मा स्मिथफिल्ड, उत्तरी क्यारोलिनाका मेयरबाट मानार्थ नागरिकता प्रमाणपत्र प्राप्त गरिन्। मेरिल्यान्ड जनरल एसेम्बलीले पनि तेक्वान्दोमा योगदानका लागि उनलाई सम्मानित गरिसकेको छ।
मार्शल आर्ट्स, नेतृत्व र समुदाय सेवाप्रतिको अटूट समर्पणले बिनिता पुरी राई नेपाली आप्रवासीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनी तेक्वान्दोको माध्यमबाट मात्र होइन, समुदाय र नेपाली आप्रवासीहरूलाई सशक्त बनाउन समेत निरन्तर क्रियाशील छन्। नारी भनेको केवल कोमलता र ममता मात्र होइनन्, उनीहरू साहस, दृढता, र अनन्त सम्भावनाको स्रोत पनि हुन्। जसरी सूर्य बिना संसार अन्धकारमय हुन्छ, त्यसरी नै महिला बिना समाजको प्रगति अपूर्ण रहन्छ।





