
अमेरिकाबाट भुटानको पारो ‘डिपोर्ट’ गरिएका पुर्व भुटानी शरणार्थीमध्ये तीन जनालाई नेपाल प्रहरीले हिरासतमा लिएको छ ।
शुक्रबार झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा पुगेका उनिहरूलाई नेपाल प्रहरी शनिबार विहान नियन्त्रणमा लिएको थियो ।
उनीहरू शुक्रवार राति नौ बजे आसिस सुवेदीको बुवा कुमार सुवेदी छाप्रो खोज्दै बेलडाँगी शिविर पुगेका हुन् । बेलडाँगी शिविर पुग्नेमा रोसन तामाङ, आशिस सुवेदी र सन्तोष दर्जी रहेका छन् ।
आपराधिक गतिविधिमा संलग्न भएका कारण अमेरिकाबाट भुटान डिपोर्ट गरिएका १० शरणार्थीलाई भुटानले पारो विमानस्थलमा स्वागत गर्दै खानपिन गराएर सीमावर्ती नाका फुन्चोलिङ–जयगाउँ (भारत)मा ल्याएर शुक्रबार दिउँसो छाडिदिएको थियो। त्यहाँबाट भारतले पूर्वी नेपालको सीमावर्ती पानीट्यांकीमा ल्याएर शुक्रबार अपराह्न छाडिदिएकोमा तीन जना भने अनधिकृत तवरमा नेपाल छिरेका हुन्।
“पारो विमानस्थल उत्रनासाथै हामीलाई स्वागत गरियो, खानपिन गराइयो। अनि हरेकलाई ३० हजार भारु खर्च दिएर जयगाउँसम्म ल्याइएको थियो,” भारतको पानीट्यांकीमा अल्झिरहेका अर्का एक शरणार्थीले अमेरिकामा रहेका आफन्तलाई शुक्रबार साँझ नै भनेका थिए, “भुटानमा तिमीहरूको कोही छैन। तिमीहरूका बाआमा पनि भुटानको नागरिकता त्यागेर बाहिर गएका हुन्। जग्गाजमिन यहाँ केही छैन। अब के गर्छौ त? भनेर सोधिएपछि हामीले नेपाल जान्छौँ भनेका थियौँ।
त्यसरी सोधपुछ गर्नुअघि नै बाआमा जन्मेको आधारमा मात्रै भुटान आउन दिएको भन्दै पारो विमानस्थलमा अध्यागमन र अन्य अधिकारीले ‘तिमीहरूको भुटान बस्ने ठाउँ र अधिकार नरहेको’ भन्दै तत्कालै देश छाड्न निर्देश गरेका थिए। त्यसो भनेपछि आफूहरूलाई गाडीमा राखेर जयगाउँ (भारतको) सिमाना ल्याएर छाडिएको र मेचीपुलको मुख्य नाकाबाट आउन मुस्किल भएपछि पानीट्यांकी दक्षिणमा रहेको खोरीबारी (बंगाल)को छोटी नाकाबाट नेपाल छिरेको बेलडाँगी आएका शरणार्थीले बताएका छन्। बेलडाँगीस्थित एक शरणार्थी प्रतिनिधिका अनुसार, शिविरमा आइपुगेका तीनै जनालाई इलाका प्रहरी प्रशासन कार्यालय दमकमा आवश्यक सोधपुछ प्रक्रियामा लगिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भुटानी शरणार्थीको नेपाल आगमन सम्भावना र गतिविधिबारे शुक्रबार जानकारी भइसकेको भन्दै यसमा विशेष निगरानी राख्न सीमावर्ती नाकाहरूमा सतर्कता अपनाइएको जानकारी दिए। तर, अर्कै उपाय र बाटोबाट नेपाल छिरिसकेका शरणार्थीबारेमा भने जानकारी नभएको उनले बताए।

28786 पटक हेरिएको 

