अमेरिकाको ओहायोमा ‘डान्स विथ रूपेश–ग्लोबल डान्स स्टुडियो’को उद्घाटन, ‘बाबा छोरा’ म्युजिक भिडियो सार्वजनिक

ओहायो-अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा नेपाली कला, संस्कृति र नृत्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यका साथ ‘Dance with Rupesh–Global Dance Studio’ को औपचारिक उद्घाटन गरिएको छ। आयोजित एक विशेष समारोहका बिच स्टुडियोको उद्घाटनसँगै ‘बाबा छोरा’ म्युजिक भिडियो सार्वजनिक गरियो भने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) ओहायोको नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा गठन गरियो।

फेयरफिल्ड सिटीकी उपमेयर डेबी पेनिङटन, विशिष्ट अतिथि डी’लाना डेभनपोर्ट र भुटानीज कम्युनिटी अफ सिन्सिनाटी (BCC) का अध्यक्ष पुष्प लुइँटेलले संयुक्त रूपमा रिबन काटेर स्टुडियोको उद्घाटन गर्नुभएको थियो। स्टुडियोका संस्थापक तथा नृत्य निर्देशक रुपेश उप्रेतीले दीप प्रज्वलन गरी सुरु गर्नुभएको उक्त कार्यक्रममा उपमेयर पेनिङटनले स्थानीय स्तरमा नेपाली समुदायले कला र व्यवसाय प्रवर्द्धनका लागि गरेको प्रयासको उच्च प्रशंसा गर्नुभयो। त्यस्तै ‘LungVive Nonprofit’ की संस्थापक डा. भर्जिनिया स्कटले विद्यार्थीहरूको नृत्य कौशल र अनुशासनको सराहना गर्दै आगामी कार्यक्रमहरूमा उनीहरूलाई अवसर दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समारोहमा रुपेश उप्रेती र आरभ उप्रेतीद्वारा अभिनित तथा निर्देशित नयाँ सांगीतिक सिर्जना ‘बाबा छोरा’ म्युजिक भिडियोको औपचारिक प्रदर्शन गरिएको थियो। यसका साथै तीजका गीतमा नृत्य प्रस्तुति, सिन्सिनाटीको युवा ब्यान्ड ‘Garjan’ को सांगीतिक प्रस्तुति र स्टुडियोका विद्यार्थीहरूका विभिन्न सांस्कृतिक नृत्यले कार्यक्रममा थप रौनक थपेका थिए। कार्यक्रममा INAS उत्तर अमेरिकाका राहुल केसी, वरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, INAS अमेरिकाका उपाध्यक्ष सुमन दाहाललगायत अमेरिकाका विभिन्न राज्यबाट आएका सामाजिक अगुवा, कलाकार र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

सोही समारोहका बिच अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) Ohio Chapter को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरियो, जसको अध्यक्षमा रुपेश उप्रेती, उपाध्यक्षमा केशव पौडेल, महासचिवमा तुलराम अधिकारी र कोषाध्यक्षमा हेम फुयाल चयन हुनुभएको छ। समितिमा डेबिड ढकाल, प्रकाश घिमिरे, शारदा धिताल, दुर्गा बान्तवा राई र डिल्ली चम्लागाईं कार्यकारी सदस्यका रूपमा चयन हुनुभएको छ भने पुष्प लुइँटेललाई सल्लाहकार चयन गरिएको छ। नवनियुक्त महासचिव तुलराम अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व गर्दै अध्यक्ष रुपेश उप्रेतीले ओहायोमा नेपाली कला, संस्कृति र पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न स्टुडियो निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

More From Author

अमेरिकाको ह्यारिसबर्गमा सामुदायिक युवा वक्तृत्वकला प्रतियोगिता हुने

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा भुटानी शरणार्थी सङ्कटको दीर्घकालीन समाधान र सबै भुटानी राजनीतिक बन्दीहरूको निःशर्त रिहाइका लागि संयुक्त वक्तव्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *