अमेरिकाको ह्यारिसबर्गमा सामुदायिक युवा वक्तृत्वकला प्रतियोगिता हुने

ह्यारिसबर्ग, अमेरिका। अमेरिकाको पेन्सिलभेनियास्थित ह्यारिसबर्गमा युवाहरूलाई लक्षित गरी सामुदायिक वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। अर्गनाइजेसन फर हिन्दु रिलिजन एण्ड कल्चर (OHRC) अन्तर्गतको OHRC Youth Forum ले युवाको प्रतिभा, सिर्जनशीलता र सार्वजनिक बोल्ने क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

आयोजकले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवाले आफ्नो भाषणको मस्यौदा अक्टोबर १५, २०२६ भित्र आयोजकलाई इमेलमार्फत पठाउनुपर्नेछ। प्राप्त भाषणलाई विज्ञहरूको टोलीले समीक्षा गरी आवश्यक सुझाव दिने र अन्तिम प्रतियोगिताका लागि छनोट गर्नेछ।

अन्तिम प्रतियोगिता नोभेम्बर २१, २०२६ शनिबार ह्यारिसबर्गस्थित OHRC, 5650 Lancaster Street, Harrisburg, PA 17111 मा आयोजना हुनेछ। प्रतियोगितामा नेपाली भाषामा प्रस्तुत गरिने वक्तृत्वलाई प्राथमिकता दिइने भए पनि अंग्रेजी भाषाका प्रस्तुति पनि स्वीकार गरिने आयोजकले जनाएको छ।

युवाहरूको सञ्चार तथा सार्वजनिक वक्तृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूमा आत्मविश्वास, जिम्मेवारी, नेतृत्व विकास र सामुदायिक सहभागिता बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको OHRC Youth Forum ले जनाएको छ।आयोजकले अन्तिम प्रतियोगितामा उपस्थित भई युवा सहभागीको प्रतिभा र प्रस्तुतिलाई प्रोत्साहन गर्न ह्यारिसबर्ग तथा आसपासका समुदायलाई आग्रहसमेत गरेको छ।

More From Author

अमेरिकामा बाल यौन दुर्व्यवहारको आरोपमा ५० वर्षीय पौडेल पक्राउ

अमेरिकाको ओहायोमा ‘डान्स विथ रूपेश–ग्लोबल डान्स स्टुडियो’को उद्घाटन, ‘बाबा छोरा’ म्युजिक भिडियो सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *