कोलम्बसमा ऐतिहासिक इन्टर–क्याम्प सकर प्रतियोगिता सम्पन्न, १६ राज्यका ६५० भन्दा बढी खेलाडीको सहभागिता

कोलम्बस, ओहायो — कुनै समय शरणार्थी शिविरका मैदानमा फुटबल खेल्दै हुर्किएको पुस्ता वर्षौंपछि अमेरिकाको एउटै मैदानमा पुनः खेल्दै भेटियो। पुराना साथीहरूसँग पुनर्मिलन भयो, पुराना सम्झना ताजा भए र नयाँ पुस्ताले त्यही इतिहासलाई अगाडि बढाउने अवसर पायो। यही भावनासहित भुटानी अमेरिकन सकर एसोसिएसन (BASA) को आयोजनामा ओहायोको कोलम्बसस्थित Kilbourne Run Sports Park मा आयोजित ऐतिहासिक इन्टर–क्याम्प सकर प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अमेरिकाका १६ राज्य र ३५ सहरबाट ६५० भन्दा बढी खेलाडी सहभागी भएका थिए। महिलासहित २६ टोलीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए भने प्रतियोगिताको तीन दिनमा ३,५०० भन्दा बढी मानिसको उपस्थिति रहेको आयोजकले जनाएको छ। खेल मैदानमा प्रतिस्पर्धा मात्र नभई दर्शक, परिवार, पूर्व खेलाडी तथा समुदायका सदस्यहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई एउटा ठूलो सामुदायिक उत्सवको रूप दिएको थियो।

प्रतियोगिताको महिला विधामा सानिश्चरे च्याम्पियन बनेको छ भने टिमाई उपविजेता बनेको छ। पुरुष ३० वर्षमाथिको विधामा सानिश्चरेले उपाधि हात पार्दा खुदुनाबारी उपविजेता बनेको छ। त्यस्तै, पुरुष ४० वर्षमाथिको विधामा बेलडाँगी–२ च्याम्पियन बनेको छ भने खुदुनाबारी उपविजेता बनेको छ।

प्रतियोगिताका विजेता टोलीलाई ८,००० अमेरिकी डलर र उपविजेता टोलीलाई ५,००० अमेरिकी डलर नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा विभिन्न विधाका उत्कृष्ट व्यक्तिहरूलाई समेत ट्रफी, सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

तर, यो प्रतियोगिताको महत्व जित र हारमा मात्र सीमित रहेन। अमेरिकामा पुनर्वासपछि विभिन्न राज्य र सहरमा छरिएर रहेका भुटानी–नेपाली समुदायलाई एउटै मैदानमा ल्याउने, आपसी सम्बन्ध बलियो बनाउने, पुरानो इतिहास सम्झिने र नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक तथा खेलकुद विरासतसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा प्रतियोगितालाई हेरिएको छ।

प्रतियोगिताको सबैभन्दा भावनात्मक पक्षमध्ये एक थियो—भुटानी शरणार्थीका सातवटै क्याम्पसँग सम्बन्धित पूर्व खेलाडीहरूको सहभागिता। कुनै समय क्याम्पका मैदानमा एउटै बल पछ्याउँदै दौडिएका पूर्व खेलाडीहरू वर्षौंपछि अमेरिकामा पुनः एउटै मैदानमा भेटिएका थिए। उनीहरूको पुनर्मिलनले पुराना खेलका सम्झना मात्र ताजा गराएन, नयाँ पुस्ताका खेलाडीलाई आफ्नो समुदायको खेल इतिहाससँग जोड्ने अवसरसमेत प्रदान गर्‍यो।

प्रतियोगिताले खेलकुदसँगै मानसिक स्वास्थ्य र सामुदायिक कल्याणको महत्वबारे पनि सकारात्मक सन्देश दिएको थियो। फुटबलले मानिसलाई शारीरिक रूपमा सक्रिय राख्नुका साथै सामाजिक सम्बन्ध बलियो बनाउने, एक्लोपन कम गर्ने र समुदायबीच आपसी सहयोग तथा अपनत्वको भावना बढाउने माध्यमका रूपमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सहभागीहरूले बताएका छन्।

“यसले हामीलाई हाम्रो विगतको सम्झना गराउँछ र भविष्यतर्फ अघि बढ्न ऊर्जा दिन्छ। यो कार्यक्रमले पुस्ताबीच पुल निर्माण गर्दै पुस्तान्तरणको दूरी कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ,” सहभागीहरूले बताएका छन्।उद्घाटन समारोहका प्रमुख अतिथि डी.एस. काफ्ले रहनुभएको थियो। समापन कार्यक्रममा Intra Foundation का अध्यक्ष डिल्ली अधिकारीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा रेनोल्ड्सबर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेल, ट्रान्सअमेरिकन एसोसिएसन अफ शितो–र्यु कराते–डो यूएसए (TASK) का संस्थापक अध्यक्ष तथा प्रमुख शिहान त्र्यम्फु राई, तथा नेपाल कराते महासंघका संस्थापक तथा पूर्व प्रमुख प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद् (NSC) का पूर्व उपनिर्देशक एवं TASK का प्राविधिक निर्देशक शिहान थानेश्वर राई लगायत विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रका व्यक्तित्व, पूर्व खेलाडी तथा सातवटै क्याम्पसँग सम्बन्धित प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले प्रतियोगितालाई थप ऐतिहासिक र भावनात्मक बनाएको थियो।

पूर्व खेलाडीहरूको अनुभव र नयाँ पुस्ताका खेलाडीहरूको उत्साह एउटै मैदानमा देखिँदा कार्यक्रमले एउटा पुस्ताबाट अर्को पुस्तामा इतिहास, अनुभव र संस्कार हस्तान्तरण गर्ने अवसरसमेत सिर्जना गरेको थियो।

अमेरिकामा पुनर्वासपछि भौगोलिक रूपमा टाढाटाढा बसोबास गर्न बाध्य भएको भुटानी–नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै थलोमा जोड्न इन्टर–क्याम्प सकर प्रतियोगिता सफल भएको आयोजक तथा सहभागीहरूको भनाइ छ।

कहिल्यै शरणार्थी शिविरका सीमित मैदानमा खेलिएको फुटबल आज अमेरिकाका विभिन्न राज्य र सहरबाट खेलाडीहरूलाई एउटै मैदानमा ल्याउने माध्यम बनेको छ। त्यसैले यो प्रतियोगिता केवल एउटा फुटबल प्रतियोगिता नभई विगतको सम्झना, वर्तमानको एकता र भविष्यको पुस्ताबीच जोडिएको एउटा साझा पुल बनेको छ।

क्याम्प छुट्यो, तर क्याम्पको भावना छुटेन। मैदान फेरियो, तर फुटबलले जोडेको सम्बन्ध अझै उस्तै छ।

for more pictures plz visit Bhutanese News Facebook page

More From Author

वासिङ्टन डिसीमा नेपाली भाषी भुटानी युवाहरू: मन्दिरको चिट्ठादेखि ह्वाइट हाउसको यात्रासम्

पेन्सिलभेनियाको भुटानी समुदायमा नेतृत्व विवाद, पूर्वअध्यक्ष निरौलाद्वारा एकता र संवादको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *