काठमाडौं – विश्वभरका प्रतिभाशाली कलाकारहरूका लागि आयोजना गरिएका प्रतिष्ठित प्रतिस्पर्धा ‘मेरो डान्स यूनिभर्स’ र ‘मेरो भोइस यूनिभर्स’ का प्रारम्भिक अडिसनहरू सफलता पूर्वक सम्पन्न भएका छन्। ६० देशहरूबाट नेपाली जातिहरूले भाग लिएका यस प्रतियोगितामा हजारौं प्रतिस्पर्धीहरूले आफ्नो नृत्य र गायन प्रतिभा प्रस्तुत गरेका थिए।
अडिसन चरण पूरा भएसँगै मेरो भ्वाईस यूनिभर्स बाट १२० जना उत्कृष्ट प्रतिस्पर्धीहरू छनोट भएका छन् भने मेरो डान्स यूनिभर्स बाट पनि १२० जना प्रतिस्पर्धीहरू अर्को चरणमा प्रवेश गरेका छन्। अब यी छानिएका प्रतियोगीहरूले अर्को महत्वपूर्ण चरण साइड लेस अडिसन सामना गर्नुपर्नेछ, जुन अप्रिल १० देखि सुरु हुनेछ।
छनोट भएका २४० प्रतिस्पर्धीहरूले आगामी अप्रिल १० देखि सुरु हुने साइड लेस अडिसनमा भाग लिनेछन्। यो अडिसन एक हप्तासम्म चल्नेछ, जहाँ प्रतिस्पर्धीहरूले झनै कठिन मूल्यांकन प्रक्रियाबाट गुज्रिनुपर्नेछ।
यस प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा गायन र नृत्य प्रतिभालाई विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरिरहेको छ। विशेष गरी, विश्वभरका युवा कलाकारहरूका लागि यो प्रतियोगिता एउटा ठूलो प्ल्याटफर्म बनेको छ, जहाँ उनीहरूले आफ्नो क्षमता देखाउन पाउँछन्।
प्रतियोगिताका आयोजकहरू भन्छन् हामीले विश्वभरका उत्कृष्ट कलाकारहरूलाई खोज्ने लक्ष्य राखेका छौं। यी प्रतिस्पर्धाहरू मार्फत हामीले अत्यन्तै प्रतिभाशाली प्रतिस्पर्धीहरू भेट्टाएका छौं, जसले भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नृत्य र संगीत उद्योगमा आफ्नो पहिचान बनाउन सक्नेछन्।
प्रतियोगिताका प्रमुख आयोजक तथा इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले “ हामी यो कार्यक्रम कमाउने उद्देश्यले गरेका होइनौं। हामीलाई सम्मान नभए पनि फरक पर्दैन, तर कर्म गर्न पाउने अवसर चाहिन्छ।” भनेर उदघोष गर्नुभएको थियो।
त्यसैगरी, विश्वव्यापी अडिसनका लागि गएका इन्ट्रा फाउन्डेसनका कर्मचारीहरू तथा स्पोर्ट्स संयोजक खडा सन्यासीको टोली हाल गृगस्थलमा आइसकेको छ।अब सबैको ध्यान अप्रिल १० बाट सुरु हुने साइड लेस अडिसन मा केन्द्रित हुनेछ।




