१३औँ बीएनसीए समिट २०२६ सिन्सिनाटी, ओहायोमा भव्य रूपमा सम्पन्न

सिन्सिनाटी, ओहायो- ओहायो राज्यस्थित सिन्सिनाटीमा आयोजित १३औँ बीएनसीए (अमेरिकास्थित भुटानी नेपाली चर्चहरूको महासङ्घ) समिट २०२६ भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। जुलाई २ देखि ४ सम्म सञ्चालन भएको तीनदिने समिटमा अमेरिकाका विभिन्न राज्य तथा सहरहरूबाट आएका करिब १,७०० देखि १,८०० नेपाली ख्रीष्टियन विश्वासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“Build to Lead” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस वर्षको समिटको मुख्य उद्देश्य नयाँ पुस्तालाई आत्मिक रूपमा बलियो बनाउँदै असल चरित्र सहित नेतृत्व विकास गर्नु रहेको थियो। विशेष गरी युवापुस्तालाई परमेश्वरको वचनमा आधारित जीवन, नैतिक चरित्र, जिम्मेवार नेतृत्व तथा सेवाभावमा अघि बढाउने विषयमा विभिन्न प्रशिक्षण, सन्देश र अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

समिटमा आराधना, बाइबल अध्ययन, सामूहिक प्रार्थना, नेतृत्व विकास तालिम, प्रेरणादायी सन्देश, आत्मिक संगति तथा सांगीतिक आराधनाका कार्यक्रमहरू सम्पन्न भएका थिए। यसका साथै युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले (ट्यालेन्ट शो) पनि आयोजना गरिएको थियो, जहाँ विभिन्न राज्यबाट आएका युवा–युवतीहरूले आफ्नो गायन तथा अन्य सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए।

यस वर्षको अर्को विशेष आकर्षण दिग्गज ख्रीष्टियन गायक तथा गीतकारहरूको ट्रिविट सांगीतिक कार्यक्रम रहेको थियो। नेपाली ख्रीष्टियन सङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका अग्रज कलाकारहरूको सम्मानमा आयोजित ट्रिविट सांगीतिक कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

समिटका प्रमुख वक्ताहरूमा रेभ. अशोक घिमिरे, श्रीमती डेकी टियाला , पास्टर सुरेश तामाङ तथा पास्टर विनोद राई रहनुभएको थियो। उहाँहरूले आत्मिक जीवन, नेतृत्व, नयाँ पुस्ताको भविष्य, परिवार, सेवकाई र ख्रीष्टियन चरित्र निर्माणका विषयमा प्रेरणादायी सन्देश दिनुभएको थियो।

समिटका क्रममा लामो समयदेखि पास्टरिया सेवकाईमा समर्पित पास्टर सावल पौडेललाई उहाँको उल्लेखनीय सेवाको कदरस्वरूप डायमण्ड अवार्ड प्रदान गरी सम्मान गरिएको थियो।त्यसैगरी नेपाली ख्रीष्टियन सङ्गीत क्षेत्रमा गीतकार तथा गायक पास्टर कर्ण तिरुवालाई पनि ख्रीष्टियन सङ्गीत क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानको सम्मानस्वरूप डायमण्ड अवार्ड प्रदान गरिएको थियो।

बीएनसीएले शिक्षा क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएको छ। संस्थाले विगतका वर्षहरूझैँ यस वर्ष पनि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै अमेरिका र क्यानडाका पाँच जना तथा नेपालका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ। यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्‍याउँदै भविष्यका सक्षम नेतृत्व तयार पार्ने उद्देश्य बोकेको जनाएको छ।

समिटका क्रममा सहभागीहरूले लामो समयपछि अमेरिकाका विभिन्न राज्य तथा सहरमा रहेका विश्वासका साथीभाइ, पास्टरहरू तथा परिवारहरूसँग पुनर्मिलन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। तीनदिने कार्यक्रमले नेपाली ख्रीष्टियन समुदायबीच प्रेम, एकता, सहकार्य, आत्मिक जागरण र सेवाको भावनालाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

Screenshot

बीएनसीएका अध्यक्ष सान राईले समापन समारोहमा सम्पूर्ण चर्चहरू, पास्टरहरू, स्वयंसेवकहरू, प्रायोजकहरू तथा देशभरिबाट सहभागी भएका सबै विश्वासीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरूमा पनि नयाँ पुस्ताको आत्मिक तथा नैतिक नेतृत्व विकासलाई केन्द्रमा राख्दै अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उत्साह, आराधना, आत्मिक जागरण, सम्मान, छात्रवृत्ति तथा नयाँ पुस्ताको नेतृत्व विकासलाई केन्द्रमा राखेर सम्पन्न भएको १३औँ बीएनसीए समिट २०२६ नेपाली ख्रीष्टियन समुदायका लागि अविस्मरणीय तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

More From Author

अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको ऐतिहासिक परेडमा पहिलोपटक सहभागी बन्यो भुटानी कम्युनिटी अफ सेन्ट्रल ओहायो

Kirat Community of Syracuse Celebrates Ubhauli Festival, Promoting Culture, Unity, and Tradition

Leave a Reply

Your email address will not be published. Required fields are marked *